राजनीति

भोली चक्काजाम गर्न दुर्गा प्रसाईंको उर्दी



काठमाडौँ, ३ असोज । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । 

प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो । त्यसको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो । 

महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हननमा सरकार लागेको आरोप लगाएको छ ।