समाचार

राउटे समुदायका एक युवकको मृत्यु



काठमाडौँ, ३ असोज । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो ।

उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए ।

उनका अनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएका थिए । गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको उनले बताए । खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए ।

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ ।