Banner News

आफैँभित्र आशाको दियो बाल्नुपर्छ : राष्ट्रपति पौडेल



काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् । आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताएका छन् ।

बिहीबार शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन् । राष्ट्रपति पौडेलले अहिलेको समय एकताबद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताए । उनले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताए । उनले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहीन बनाएको बताए ।

उनले भने, ‘आजका दिनमा हामीले भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ । अतः हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बालौँ । किनभने यो निराश बन्ने समय होइन । यो हामीबिच आरोप, प्रत्यारोप गर्ने समय होइन । यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन । यो एकताबद्ध हुने समय हो । यो आफैँप्रति विश्वस्त हुने समय हो ।’