समाचार

धरहरा चढ्नेको अत्यधिक भिड



काठमाडौँ, ४ असोज । हिजोदेखि सञ्चालनमा आएको धरहरामा अवलोकन गर्न जानेहरुको भिड लागेको छ ।

एक हप्तासम्मको लागि अनलाइन टिकट बुक भइसकेको छ । हिजो पहिलो दिन नै धरहरा चढ्न जानेहरुको भिड लागेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि हरेक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ । धरहरा चढ्नका लागि टिक बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले dharhara.gov.np वेबसाइट सञ्चालन गरेको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टको साथै सिँढीको पनि व्यवस्था गरिएको छ ।