काठमाडौँ, ५ असोज । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीबाट आफ्नो नाममा प्रवाह भएको ऋणका विषयमा आफूलाई जानकारी नै नरहेको दाबी गर्दै आए पनि सहकारी सञ्चालकहरूले ऋणी लामिछाने उनी नै रहेको बताएका छन् । संसदीय छानबिन विशेष समितिलाई बयान दिने क्रममा विभिन्न सहकारी सञ्चालकले आफूहरूले चिनेको रवि लामिछाने पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य नै रहेको उल्लेख गरेका हुन् ।
सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिमा गत भदौ ७ मा बयान दिँदा लामिछानेले आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट आफ्नै नाममा आएको करोडौं रकमबारे थाहै नभएको बताएका थिए । उनले सहकारी ठगीमा आफ्नो कुनै साइनो नरहेको दाबी गरेका थिए । सञ्चालक, सेयर सदस्य वा कुनै रूपमा पनि सहकारीमा आबद्ध नरहेको हुँदा आफ्नो नाममा रकम आउने कुरै नभएको लामिछानेको भनाइ थियो ।
शुक्रबार सार्वजनिक गरिएको ‘सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदन’ मा समितिले बयानका क्रममा लामिछानेलाई पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा सदस्य रहेको प्रमाण र सदस्यता नम्बर सुनाएको उल्लेख छ । जवाफमा लामिछानेले भनेका छन्, ‘उल्लिखित सहकारी संस्थाहरूमा मेरो कुनै खाता छैन । खाताका लागि कुनै आवेदन दिएको छैन । मेरो संलग्नता छैन र म ती दुई वटै सहकारी संस्थाको सदस्य पनि होइन ।’
गोर्खा मिडिया नेटवर्क प्रालिमा कार्यक्रम सञ्चालक र प्रबन्ध निर्देशकको भूमिकामा २०७७ माघ १ देखि २०७९ असार १ सम्म रहेका लामिछानेले सहकारीबाट आफूले ऋण नमागेको र नलिएको बताएका थिए । व्यक्ति र संस्थाबाट गोर्खा मिडियामा आएको सम्पूर्ण रकम गितेन्द्रबाबु (जीबी) राईले ल्याएको उनको भनाइ थियो ।
‘यी सम्पूर्ण रकम तत्तत् संस्थाबाट ल्याउँदा आवश्यक प्रक्रिया पूरा गरेको बुझ्नुपर्छ । जीबी राई स्वयं उल्लिखित संस्थाहरूमा संलग्न रहेको र गोर्खा मिडिया नेटवर्क प्रालिको पनि कार्यकारी अध्यक्ष भएको र कम्पनीको सम्पूर्ण कारोबार निजले नै हेर्ने भएको हुँदा यस विषयमा मलाई जानकारी छैन,’ लामिछानेले बयानमा भनेका छन् ।
समितिले सहकारीको ऋणी रवि लामिछाने पहिचान गर्न विभिन्न सहकारी संस्थाका सञ्चालक/पदाधिकारीका साथै गोर्खा मिडियाकै सञ्चालकसँग प्रश्न गरेको थियो ।हाल कारागारमा रहेका पोखराको सूर्यदर्शन र वीरगन्जको स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष एवं नेपालगन्जको समानता सहकारीका सचिव कुमार रम्तेलले आफूले चिनेको रवि लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभा सदस्य नै रहेको बताएका छन् ।
समितिले उनलाई सोधेको थियो, ‘२०७८ असार ३१ मा रवि लामिछानेलाई १४.७५ प्रतिशत ब्याजदर लिने गरी १ करोडको पहिलो वर्षको ब्याज १४ लाख ७५ हजार र दोस्रो वर्षको ब्याज १६ लाख १३ हजार ७ सय ३० गरी जम्मा १ करोड ३० लाख ८९ हजार २०८० असार १३ मा ऋण चुक्ता नगरी गोर्खा मिडिया प्रालिका नाममा ऋण कसरी कायम गरिएको हो र यो कानुनसम्मत छ कि छैन ? निज पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधिसभाका माननीय सदस्य रवि लामिछाने हो, होइन ?’
गोर्खा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी फोरके टीभीका सञ्चालक रहेका रम्तेलले जवाफमा भनेका छन्, ‘सूर्यदर्शनबाट भएको कारोबार मलाई जानकारी भएन तर सुप्रिम सहकारी बुटवलबाट मेरा नाममा करिब १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरी ऋणी रवि लामिछानेको करिब ७ लाख किस्ता तिरिएको र छविलाल बन्जाडे जोशीको करिब १७ लाख किस्ता तिरिएको हो । ऋणी रवि लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधिसभाका माननीय सदस्य र किस्ता तिरिएको छविलाल बन्जाडे जोशी पूर्वनायब महानिरीक्षक हुनुहुन्छ भन्नेमा म यकिन छु । सो ऋणको बाँकी रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ ।’
समितिले रम्तेललाई प्रतिप्रश्न गरेको थियो, ‘समितिमा यसपूर्व प्राप्त जानकारीअनुसार रवि लामिछानेको सूर्यदर्शन, पोखरामा सिर्जना चोक कास्की र सुप्रिम, बुटवलमा बुटवल ठेगाना राखी पहिचान खुल्ने आवश्यक कागजात र प्रक्रिया पूरा नभएको अवस्था छ । तपाईंले के–कुन आधारमा निज रवि लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाका माननीय सदस्य भनी यकिन गर्नॅभयो ?’ त्यसमा रम्तेलले आफूले चिनेको लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री नै रहेको बताएका छन् ।
‘मेरा नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिनसाथ भन्न सक्छु,’ उनले भनेका छन्, ‘निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दीपक बोहराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभए तापनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ ।’ लामिछानेले २०८० पुस ९ देखि उक्त पदयात्रा गरेका थिए ।
समितिले सूर्यदर्शन सहकारीको सञ्चालक समितिका पूर्वसदस्य भविश्वर अर्याललाई पनि यस्तै प्रश्न गरेको थियो । ‘यस सहकारीबाट ५०–५० लाख गरी दुई पटक गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा १ करोड पेस्की देखाई गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खातामा रकम जम्मा गरिएको देखिन्छ । उल्लिखित रकमलाई रवि लामिछानेका नाममा ऋण बनाई गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा भएको पेस्की फर्छ्योट गरेको देखिन्छ । तत्पश्चात् विभिन्न मितिमा ब्याजलाई पुँजीकृत गरी साँवा–ब्याज दुवैलाई गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा कर्जा खडा गरी रवि लामिछाने नामको ऋण चुक्ता गरिएको देखिन्छ । यो कार्य कानुनसम्मत छैन,’ अर्यालले बयानमा भनेका छन्, ‘निज रवि लामिछाने नाम गरेको व्यक्तिको नागरिकता र अरू प्रमाण कागजात नभेटिएको हँॅदा पूर्वउपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाको माननीय सदस्य नै हो, होइन, यकिनसाथ भन्न सक्दिनँ तर गोर्खा मिडिया नेटवर्क प्रालिका खातामा रकम गएको देखिएकाले उहाँ नै हुन सक्ने देखिन्छ ।’
ललितपुरमा रहेको जीबी ग्रुप अफ कम्पनिजमा नियमित काममा जाँदा लामिछानेलाई बैठकमा देखेको पनि अर्यालले बताएका छन् । ‘गोर्खा मिडिया नेटवर्क प्रालिको एउटा बैठकमा गितेन्द्रबाबु राई, रवि लामिछाने र दीपेश पुनसँगै म पनि थिएँ । रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिबाट राजीनामा दिएर छाडेपछि सोही रकम गोरखा मिडिया नेटवर्क प्रालिका नाममा सारिनुले उक्त रवि लामिछाने भन्ने व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाका माननीय सदस्य हुन् कि भन्न सकिन्छ,’ उनको बयान छ । अर्याल सहकारी ठगी मुद्दामा पक्राउ परेर हाल कास्की कारागारमा छन् ।
बुटवलको सुप्रिम सहकारीकी क्यासियर रोशनी गुरुङले व्यवस्थापक सागर केसीले भनेअनुसार रवि लामिछानेका नाममा खाता खोलेको बयान संसदीय समितिलाई दिएकी छन् । ‘व्यवस्थापक सागर केसीले फाराम फिलअप नगरी रवि लामिछानेका नाममा खाता खोलेर ठेगाना डट डट राखी छिटो उक्त खाता नम्बर मलाई दिनु भन्नुभएको थियो । मैले ठेगाना, कागजात, नागरिकता, सम्पर्क नम्बरमा के लेख्ने भन्दा डट डट मात्रै लेख्नु भन्नुभएको थियो । यस्तै प्रक्रिया छविलाल जोशीकामा पनि गरिएको थियो । यस प्रकारको खाता अन्य केही व्यक्तिको पनि गरिएको थियो,’ उनको बयान छ ।
२०७७ चैत १८ मा लामिछानेका नाममा स्वीकृत भएको ऋण २ करोड गोर्खा मिडियाका नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा के आधारमा जम्मा गराएको भन्ने प्रश्नमा गुरुङले व्यवस्थापक केसीले भनेअनुसार काम गरेको बताएकी छन् । ‘बैंकमा डिपोजिटरको नाम रवि लामिछाने देखिनुपर्छ भनेर सागर सरले भन्नुभएको थियो तर बैंकका कर्मचारीले डिपोजिटरका नाममा रहेको मान्छे कि उपस्थित हुनुपर्छ कि रवि लामिछाने/रोशनी गुरुङ लेख्दा मिल्छ भन्नुभएको थियो र सोहीअनुसार गरेकी थिएँ ।’
सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई रूपन्देही कारागारबाट ल्याएर समितिले बयान लिएको थियो । बयानमा गुरुङले सहकारीका नाममा कुनै पनि सम्पत्ति नरहेको बताएका थिए । अनुसन्धानका क्रममा उक्त सहकारीबाट एक करोडभन्दा बढीका दरले रकम लिनेहरूमा गोर्खा मिडिया, जीबी राई, रवि लामिछाने, छविलाल जोशी, विपिन आचार्यलगायत रहेको र उनीहरूका नाममा बिनाधितो ऋण प्रवाह भएको पत्ता लागेको समेत गुरुङले बताएका थिए ।
सहकारीका संरक्षक जीबी राई र कार्यकारी प्रमुख सागर केसीको मिलेमतोमा लामिछानेका नाममा २ करोड ऋण बिनाधितो प्रवाह गरिएको गुरुङको बयान छ । ‘निज ऋणी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने नै हो । गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु राई र प्रबन्ध निर्देशक रवि लामिछाने रहेको तथा सुप्रिम सहकारीबाट गोर्खा मिडियामा जम्मा भएको रकमबाट नै रवि लामिछानेको ग्यालेक्सी टेलिभिजनमा सेयर कायम भएको प्रहरीको अनुसन्धानबाट मैले थाहा पाएकाले निज ऋणी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाका माननीय सदस्य रवि लामिछाने नै हुन् भन्ने मलाई लाग्छ ।’
सुप्रिम सहकारीबाट लामिछानेका नाममा २ करोडको ऋण प्रवाह भएको विषयमा गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई पनि समितिले प्रश्न गरेको थियो र उक्त व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने हो कि होइन भनी सोधेको थियो । जवाफमा जोशीले भनेका छन्, ‘मैले चिनेको रवि लामिछाने पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य नै हो ।’ कान्तिपुर
प्रतिक्रिया दिनुहोस्