अर्थ

चार युवाले थाले व्यावसायिक बेसारखेती



काठमाडौँ, ६ असोज । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् ।

युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् ।
  
वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन् । चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन् । द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन् ।

प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताए ।

उनीहरूले बेसारलाई मात्रै होइन पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाएका छन्। बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउने योजना पनि रहेको छ । बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ ।