Banner News

व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढेका छौँ : कार्यवाहक प्रधानमन्त्री सिंह



काठमाडौँ, ६ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् ।

आज सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासङ्घका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले घरजग्गा व्यवसायमा रहेका समस्याहरू पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले सहर व्यवस्थापनमा भएका समस्याहरू पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको बताए । उनले सहरको विकास गर्ने क्रममा सरकार मात्रै नभई निजी क्षेत्रलाई पनि समावेश गरिने बताए ।

उनले भने, ‘समस्याहरू पहिचान गर्नुपर्छ । पोलिसी बनाएर ऐनमा लैजानको लागि अहिले कम भइरहेको छ । सहरलाई अलि व्यवस्थित गर्दै लगौँ । सहरलाई व्यवस्थित गर्दै लग्दा अपार्टमेन्ट, हाउजिङको कन्सेप्टदेखि लिएर सबै आइरहेको छ, त्यसमा देखापरेका कमी, कमजोरी आइडेन्टीफाइ गरौँ । त्यसपछि विधि प्रक्रियामार्फत ऐन बनाउन, प्रोसेसमा फास्ट लैजान हामी प्रयासरत हुनेछौँ । सहरको विकास गर्ने क्रममा सरकार मात्रै नभई निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्छ भन्नेमा हामी विश्वस्त छौँ, निजी क्षेत्रहरू सबै मिलेर अहिलेको व्यवस्थित सहर, स्वच्छ सहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्ने गरी अघि बढ्नुपर्छ ।’