राजनीति

विपीन जोशीको रिहाइका निम्ति विश्व समुदायको ध्यानाकर्षण



काठमाडौँ, ८ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका निम्ति सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी हाल अमेरिकाको न्युयोर्कमा छिन् । असंलग्न राष्ट्रहरूको संगठन (नाम)को मन्त्रिस्तरीय बैठकमा उनले जोशीको रिहाइका निम्ति विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । उनले नेपाल जोशीको स्वागतका निम्ति व्यग्र प्रतीक्षामा रहेको भन्दै सहयोग गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत अक्टोबरमा लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमास लडाकुले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए ।

नेपाल सरकारले हमलाको निन्दा र जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा. राणाले उक्त बैठकमा बताइन् । उनले विश्वमा हाल शान्ति स्थापनाका निम्ति सामूहिक पहलको खाँचो रहेको पनि औँल्याइन् ।

विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा हाल युद्व, विद्रोह र हिंसाजन्य कार्य भइरहेकाले त्यो अन्त्य र शान्ति स्थापनाका निम्ति विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

“मलाई लाग्छ, दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरूको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ,” उनले भनिन् ।

विश्वका देशहरू यस्ता द्वन्द्व रोक्न, युद्धबाट सिर्जित समस्याको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको उनले उल्लेख गरिन् । उनले हिंसाजन्य कार्य तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् ।