राजनीति

चाडपर्वले एकतालाई अभिवृद्धि गर्न मद्दत गरिरहेका छन् : उपराष्ट्रपति यादव



काठमाडौँ, ९ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताएका छन् । 

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न यस पर्वले सघाउ पुग्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपति यादवले सांस्कृतिक र धार्मिक महत्व बोकेको जितिया पर्व तराई–मधेसका भूइँमान्छे, मूल आदिवासी, रैथाने जातजातिकाहरुले आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा रहेको बताएका छन् ।

‘हामीले मनाउने पर्वहरु यस्तो उत्सव हुन्, जसले वर्षौंदेखि प्रचलनमा रहेका हाम्रा मूल्यमान्यतालाई वर्तमानसम्म दृढताका साथ एउटा कडीका रुपमा जोडेर राख्न सहयोग गरेको छ । पर्व–त्योहारहरुले हाम्रो अन्तःचेतनालाई जगाउँदै हाम्रो आत्मविश्वास पनि बढाउँदछ । यसले हाम्रो आध्यात्मिक मूल्यलाई बल प्रदान गर्दै हाम्रा पारिवारिक सम्बन्धको रागात्मकतालाई थप सुदृद्ध र बलियो बनाउनुका साथै सामाजिक संरचनालाई थप प्रगाढ बनाउनमा सघाउँदछ,’ उनले शुभकामना सन्देशमार्फत भनेका छन् ।