राजनीति

गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो: पूर्वडीआईजी जोशी



काठमाडौँ, ९ असोज । सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पोखरा पुगेको छ । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौंमा पक्राउ गरी कास्की पुर्‍याइएपछि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पनि पोखरा खटाएको हो । जोशीलाई संगठित अपराध र ठगीमा थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई सोमबार पाँच दिनका लागि अनुमति दिएको छ । कास्की प्रहरीका अनुसार जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा प्रारम्भिक बयान सुरु गरिएको छ ।

बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका छन् । ‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ,’ जोशीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्, गोर्खा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो । भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन् । रविले जीबीलाई भगवान् नै भनेर उचालेका थिए ।’

छविले भनेजस्तै ग्यालेक्सी टेलिभिजनको उद्घाटनका दिन लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरामा भनेका थिए, ‘टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ क्याउँक्याउँ नगर्नुहोला । यो उद्यम व्यवसाय गरेर, सरकारलाई कर तिरेर कमाएको पैसा हो, त्यो नै लगानी गरेको हो ।’ तर अहिले प्रमाणित भएको छ, जीबी र रविले त्यो पैसा काठमाडौं, पोखरा, चितवन, वीरगन्ज र बुटवलका सहकारीबाट ल्याएका थिए । सहकारीबाट कम्पनीमा आएको ६५ करोड ५४ लाख प्रवाह भएको मात्र होइन, सबैजसो रकम लामिछाने आफैंले चेक काटेर खर्च गरेको पनि पुष्टि भएको छ । तर, नाम, ठेगाना, तस्बिर र हस्ताक्षरसहित खाता खोलेका रवि लामिछाने यो खाताप्रति उत्तरदायी नहुने भन्दै उनी नेतृत्वको पार्टी रास्वपाले आफ्नै कार्यकर्तालाई अन्धकारमा राख्न प्रयास गरिरहेको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीले ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोली सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख लगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले किटान गरेको छ । प्रतिवेदनले गोर्खा मिडियाका चार सञ्चालक राई, जोशी, लामिछाने र कुमार रम्तेललाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय हुँदै असोज ६ मा प्रहरी प्रधान कार्यालय पठाइएको थियो । त्यही दिन प्रहरीले जरुरी पुर्जी थमाएर पूर्वडीआईजी जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरेको थियो । लगत्तै उनलाई जहाजमा कास्की पुर्‍याइएको थियो ।

कास्की प्रहरीको अनुसन्धान र पोखरा महानगरपालिकाको छानबिनमा सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा लगेर अपचलन गरिएको पुष्टि भएको थियो । त्यही प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर २०८० असोज १८ मा कास्की जिल्ला सरकारी वकिल कार्यालयले सूर्यदर्शनका संस्थापक अध्यक्ष राईसहित १९ जनालाई प्रतिवादी बनाएर १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित अदालतमा ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अदालतमै विचाराधीन छ । त्यस बेला लामिछाने र जोशी अनुसन्धान दायराभन्दा बाहिर थिए । पीडित बचतकर्ताले २०८० माघमा लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहितलाई आरोपित बनाएर प्रहरीमा पूरक जाहेरी दिएका थिए । तर, आरोपित लामिछाने नै उपप्रधानसहित गृहमन्त्री बनेपछि अनुसन्धान अवरुद्ध बनेको थियो । पछिल्लो पटक संसदीय विशेष समितिले समेत छानबिन थालेपछि कास्की प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो ।

संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएपछि भने गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ परेका हुन् । ‘त्यसपछि सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि कास्की प्रहरीबाट माग भई आएबमोजिम अनुसन्धानका लागि सहयोग गर्न सीआईबीबाट इन्स्पेक्टर र सईलाई कास्की पठाइएको हो,’ सीआईबी प्रमुख एआईजी दीपक थापाले भने । कान्तिपुर