Banner News

जनताप्रति सरकार चरम उदासीन : अध्यक्ष प्रचण्ड 



काठमाडौँ, १३ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताप्रति चरम उदासीन रहेको टिप्पणी गरेका छन् ।

प्रचण्डले आज एक विज्ञप्ति जारी गर्दै राजधानीमा नै बाढीपीडितहरू उद्धारका लागि लामो समय प्रतीक्षा गर्नुपरेकाले सरकार उदासीन रहेको टिप्पणी गरेका हुन् । 

“भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

उनले बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् । उनले नेपालीहरूको मुख्य पर्व दसैँ तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववत् रूपमा सञ्चालनका लागि तत्काल पहल गर्न पनि ध्यानाकर्षण गराएका छन् ।