समाचार

काभ्रे ज्याम्दीमा ५० घर पहिरोको जोखिममा



काठमाडौँ, १३ असोज । भारी वर्षातले काभ्रेपलाञ्चोक जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढी र पहिरोमा परी घाइते भएका र सडक अवरुद्ध हुँदा तीन दिनदेखि सडकमै अलपत्र परेकालाई नेपाली सेनाको तीन वटा हेलिकप्टर मार्फत उद्धार गरिरहेको छ ।

तीन दिनसम्म लगातार परेको भारी वर्षातले जिल्लाका कयौँ बस्ती पहिरोमा परेका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका–१२ का करिब ५० घर पहिरोमा परेर जोखिमपूर्ण अवस्थामा रहेको उपमेयर उपप्रमुख विष्णुमणि पौडेलले बताए ।

मण्डन देउपुर नगरपालिकाको १२ नम्बर वडा (साविक ज्याम्दी गाविस) को माथिल्लोे भेगमा भारी वर्षाका कारण जमिन धसिँदै जाँदा ५० घर जोखिममा परेको हो ।

केही घर भत्किएका छन् भने जमिन धसिँदै गएर पहिरोको रूप लिदा गाउँ नै विस्थापित भएको हो । बाघदेवी माध्यमिक विद्यालय नजिकै रहेको बिस्कुटे बस्तीदेखी भुम्लु गाउँपालीकासँग सीमा जोडिएको कोलाचौर भन्ने स्थानसम्म माथि डाँडोबाटै जमिन धसिँदै जाँदा त्यसले केही स्थानमा पहिरोको रूप लिएको छ भने केही स्थानमा जमिनसँगै घरहरू समेत धसिँदै गएको छ । मण्डन देउपुरको १२ नम्बर वडामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।

नगरपालिकामा अहिलेसम्म ७ जनाको मृत्यु भएको र ७ जनाकै शव निकालिएको मेयर टोकबहादुर वाइबाले बताए । १० नम्बर वडामा २, ११ मा ४ र १२ मा एक शव निकालिएको उनले बताए ।