राजनीति

जुनसुकै गलत प्रवृत्तिका विरुद्ध युवाहरुले एक्सन लिनुपर्छ : पूर्वमन्त्री बस्नेत



कैलाली, १४ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमा एक नेताले अर्को नेताको खुट्टा तान्ने नभई हात तान्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल कैलालीको दशौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टी र देशका विरुद्ध हुने जुनसुकै गलत प्रवृत्तिका विरुद्ध युवाहरुले एक्सन लिनुपर्ने बताउनुभयो । असमझदारी, असन्तुष्ठी र अन्तरघातले निर्वाचनमा पराजित हुनुपरेको बताउँदै उहाँले आगामी दिनमा यस्ता कुरा हुन नदिन युवाहरुले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । युवा संघको पहिचान नै देशर जनताको लागि रहर लाग्दो, भर लाग्दो र बैरीको लागि डर लाग्दो हुनुपर्ने रहेको उल्ले गर्दै उहाँले सोही अनुसार नवयुवाहरुलाई संगठनमा आवद्ध गराई जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘युवा संघ रुप रंगले रहर लाग्दो भनेको हैन । जनताको मन जित्ने काम गरेर रहर लाग्दो बन्नुस् भनेको हो । चुनाव जित्ने प्लान छैन । एकले अर्कोलाई सक्ने प्लान मात्रै छ । पार्टी भित्र एक नेताले अर्को नेताको खुट्टा तान्ने प्रवृत्ति बढेको छ । अब खुट्टा तान्ने हैन हात तान्ने परिपाटीको विकास हुनुपर्छ ।’

युवा संघ जहिले पनि अन्याय अत्याचारका विरुद्ध र जनतालाई अफ्ठ्यारो पर्दा साथमा उभिनुपर्ने उल्लेख गर्दै उहाँले देशले विपत्ति भोगेको प्रति दुःख व्यक्त गर्नुभयो । विपक्तिको सयमा सहयोगका लागि युवा संघ परिचालन भइसकेको बताउनुभयो ।
कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा कैलाली इञ्चार्ज नारदमूनी राना, पोलिटब्यूरो सदस्य निरुदेवी पाल, राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज राजिव पहारी, एमाले केन्द्रीय सदस्य झपट रावल, संघका उपाध्यक्ष रमेश तिवारी, एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्द लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।