Banner News

कांग्रेस र एमालेका संघीय सांसदले १५ दिनको तलब दिने



काठमाडौँ, १६ असोज । सत्तारूढ कांग्रेस र एमालेका संघीय संसद्का सांसदहरूले बाढीपहिरोपीडितका लागि आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् । दुवै दलको मंगलबार बसेको संसदीय दलको बैठकले सांसदहरूले मासिक पाउने तलबबाट कट्टा हुने गरी १५ दिनको पारिश्रमिक सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको हकमा भने एक महिनाको पारिश्रमिक बराबरको रकम दिने निर्णय गरिसकेको छ । यसैगरी कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । कांग्रेस र एमाले दुवै दलले पार्टीगत रूपमा ५०/५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । प्रमुख प्रतिपक्ष माओवादीले केन्द्रीय राहत कोष स्थापना गरी पार्टी संरचना, नेता तथा कार्यकर्ता र शुभ चिन्तकबाट सहयोग संकलन सुरु गरेको छ ।

माओवादीका सांसदहरूले १० दिनको पारिश्रमिक बराबरको रकम उक्त राहत कोषमा दिने भएका छन् । पार्टीको संसदीय दलले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरूले ७ दिनको पारिश्रमिक दिने निर्णय लिएका छन् । सत्तारूढ एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंमा फजुल र अनावश्यक खर्च नगरी बाढीपहिरोमा परेकाहरूका लागि सहयोग जुटाउन संसदीय दलको बैठकमा आग्रह गरेका छन् । सांसद एवं पूर्वमन्त्री पदम गिरीका अनुसार प्रधानमन्त्रीले बाढीपहिरोमा परेकाहरूको उद्धार, राहतमा लाग्न पार्टीका सम्पूर्ण कार्यकर्ताहरूले अपिलसमेत गरेका छन् ।

ओलीले सरकारले साधनस्रोतको अधिकतम प्रयोगबाट बाढीपहिरोमा परेकाहरूको उद्धार र राहतमा सरकारी संयन्त्र परिचालन भएको आफू बाढीपहिरो गएकै दिन अमेरिकाबाट हिँडेको जानकारी गराएका थिए । देशमा बाढीपहिरो जाँदा पनि प्रधानमन्त्रीले अमेरिका बसाइ

नछोट्याएको भनेर आलोचना भइरहेका बेलामा उनले त्यसको प्रस्टीकरण दिँदै असोज १२ गते शनिबार नै आफू हिँडेको बताएका हुन् ।

कांग्रेसले क्षतिग्रस्त राजमार्ग तत्काल पुनर्निर्माण गर्ने र वैकल्पिक मार्गको समेत व्यवस्था गरेर दसैं मान्नका लागि नागरिकलाई सहज यात्राको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । उसले हवाई मार्गमा पर्ने चापलाई समेत मध्य नजर राखेर भाडादर न्यूनतम दरमा कायम राख्न र बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।

संसद्को राज्य व्यवस्था समितिले तत्काल सार्वजनिक सवारीसाधनको भाडा नबढाउन र अवरुद्ध राजमार्ग तत्काल सुचारु गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले सडक यातायात सुचारु गर्न क्षतिग्रस्त सडकमा यातायात सुचारु गर्न, सडक पहुँच नपुगेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत् मूल्य बढ्न नदिनका लागि बजार अनुगमन गर्न र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले असोज ११ र १२ को विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताएका थिए । राहत वितरण, घाइतेहरूको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरू सुचारु गर्नका लागि सरकार क्रियाशील भइरहेको लेखकले बताए ।

साहसी चणिकलाललाई सम्मान गर्ने खतिवडाको घोषणा

मानवअधिकारवादी अभियन्ता तथा ज्येष्ठ नागरिक बद्रीप्रसाद खतिवडाले नख्खुखोलाको बाढीबाट दुई जनालाई उद्धार गर्ने काभ्रे, तेमालका ३३ वर्षीय चणिकलाल तामाङलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका छन् । ९० वर्ष पार गरेका खतिवडाले तामाङलाई नगद १० हजार १ सय १० रुपैयाँसहित सम्मान गर्न लागेका हुन् ।

आफ्नो ज्यानको पर्वाह नगरी बाढीमा बगेका मानिसको जीवन रक्षा गर्ने तामाङको साहसी कदमलाई सम्मान गर्न आवश्यक रहेको खतिवडाको भनाइ छ । ‘साहसी काम गर्ने मान्छेको इज्जत गर्नुपर्छ,’ उनले भने, ‘यसबाट अरुले शिक्षा पाउँछन् ।’ शनिबार नख्खुखोलामा आएको बाढीमा बगिरहेका बालिका मेघना साह र उनका काका राज साहलाई तामाङले उद्धार गरेका थिए । कान्तिपुर