काठमाडौँ, १५ असोज । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी पलेशा गोवर्द्धन र एरिका गुरुङलाई पुरस्कार बापतको रकम निकासा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गत असोज ३ मा पलेशा र एरिका सहित उनका कोच तथा प्रदेशस्तरका कराँते, तेक्वान्दो संघलाई वितरण गरिएको पुरस्कार बापतको रकम निकास गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत् खेलाडी प्रोत्साहन तथा पुरस्कार वितरण अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयलाई २३ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको छ ।
उनका अनुसार असोज ३ गतेको कार्यक्रममा प्रदेश सरकारको खेलाडी प्रोत्साहन तथा पुरस्कार वितरण अन्तर्गत १ लाख रुपैयाँ मात्र बजेट रहेकाले रकम वितरण गर्न नसकिएको उनले बताए ।
‘३ असोजमा कार्यक्रम गरेर सम्मान गरियो । सो समयमा घोषणा गरिएको रकम हाल निकासा गरिएको छ । जसमा पुरस्कार बापत २० लाख रुपैयाँ खर्च हुन्छ । ३ लाख रुपैयाँ सोही शीर्षकमा रहने छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्