काठमाडौँ, १७ असोज । पछिल्लो समय ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै गइरहेको एक अध्ययनले देखाएको छ । काठमाडौं महानगरपालिकाले ‘ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।
अध्ययनमा छोराछोरी विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा भावनात्मक एक्लोपनाको गम्भीर समस्याले सताएको देखिएको छ । यसैगरी अध्ययनमा ६३.३ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना नभएको उल्लेख छ ।
अध्ययनमा महानगरपालिकाभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका ५०९ जना ज्येष्ठ नागरिक सहभागी थिए । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप–एमआरएफ) अन्तर्गत २०७९ मा त्रिचन्द्र कलेजका मनोविज्ञानका असिस्टेन्ट प्रोफेसर प्रल्हाद अधिकारीले अध्ययन गरेका थिए । अध्ययनमा सहभागीबाट सामाजिक र भावनात्मक गरी दुई किसिमको एक्लोपना देखिएको उनले बताए । ‘हामीले सहरमा भएका ज्येष्ठ नागरिकको मानसिक अवस्था पत्ता लगाउन अध्ययन गरेका थियौं,’ उनले भने, ‘सहभागीमध्येमा चार जनामा एकलाई भावनात्मक, तीन जनामध्ये एक जनालाई डिप्रेसन र दुई जनामध्ये एकलाई सामाजिक एक्लोपनले सताएको पाइयो ।’
उनका अनुसार ‘मेरो कोही सहारा तथा साथी नभएको विचार सामाजिक र म एक्लो वा दुःखी छु भन्ने’ कुरा भावनात्मक एक्लोपनको सूचक मानेर अध्ययन गरिएको हो । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशतमा उच्च, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य देखिएको अध्ययनमा छ ।
ज्येष्ठ नागरिकले हेरचाहको दर्शनबाट प्रेरित भएर महानगरले काम गर्नुपर्ने प्रतिक्रिया दिएको उनले सुनाए ।‘ज्येष्ठ नागरिकका सवालमा अध्ययनमा आधारित रहेर नीति बनाउनुपर्ने, सुशासन कायम गरिनुपर्ने, ज्येष्ठ नागरिकको आवश्यकताको विषयमा महानगरले उत्तरदायी भएर सम्बोधन गर्नुपर्ने अपेक्षा राखेका थिए,’ उनी थप भन्छन्, ‘यसैगरी ज्येष्ठ नागरिकलाई जमघट हुन सामाजिकीकरणका कार्यक्रम ल्याउनुपर्ने, प्रत्यक्ष रूपमा ज्येष्ठ नागरिकसम्बन्धी सूचना प्रभावकारी ढंगबाट उपलब्ध गराउनुपर्ने, शारीरिक गतिविधिका लागि व्यायामशाला र खेलकुदको स्थान छुट्याउनुपर्ने र डिजिटल साक्षरतासम्बन्धी तालिम प्रदान गर्नुपर्ने अपेक्षा राखेका थिए ।’
अध्ययनले विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकहरूमा गम्भीर र भावनात्मक एक्लोपना भएको देखिएको महानगर सामाजिक विभागकी प्रमुख समीक्षा निरौलाले बताइन् । ‘मुख्यगरी विदेशमा भएका छोराछोरीहरूको अभिभावकमा यस्तो समस्या देखिएको छ,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिकलाई अन्तिम समयमा आफ्नो सन्तान र आफन्तहरूको विशेष निगरानी चाहिने हुन्छ ।
छोराछोरी विदेश जाने यहाँ अभिभावकहरू एक्लो हुने देखिएको छ । एक्लोपना, तनावले गर्दा ज्येष्ठ नागरिकमा अल्जाइमर र डिमेन्सिया जस्ता बिर्संदै जाने रोग देखा पर्न थालेको छ ।’ यसलाई कम गर्न एक पुस्ता र अर्को पुस्ताबीच रहेको खाडललाई पुर्न ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण गर्ने कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको उनी बताउँछिन् । साथै ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले स्थानीय ज्येष्ठ नागरिक समिति गठन गर्नुपर्ने परिकल्पनालाई महानगरले कार्यान्वयनमा लाने योजना बनाएको उनले सुनाइन् ।
समाजशास्त्री युवराज लुइँटेलले गाउँको तुलनामा सहरमा रहेका ज्येष्ठ नागरिकमा एक्लोपनको समस्या बढिरहेको बताउँछन् । ‘नेपाल नर्फिने गरी गएका छोराछोरीका आमाबुबामा यस्तो समस्या देखिँदै गएको छ,’ उनले भने, ‘अहिले हाम्रो सामाजिक संरचना पनि बदलिँदै गएको छ । संयुक्त परिवारबाट एकल परिवारमा गएका छौं । यसले गर्दा पनि हजुरबुबाआमासँग सम्पर्क टुटेकाले समस्या निम्तिँदै जाने देखिन्छ ।’ उनका अनुसार यस समस्यालाई कम गर्न स्थानीय तहमा ज्येष्ठ नागरिकमैत्री कम्युनिटी सेन्टर सञ्चालन गर्नुपर्छ ।
साथै सामाजिक पुँजीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । यो अवस्थालाई विश्लेषण गर्दै अध्ययनले महानगरपालिकालाई ज्येष्ठ नागरिकको पुनः परिभाषा गरेर पहिचान प्रदान गर्न सुझाव दिएको छ । साथै ज्येष्ठ नागरिकलाई अधिक प्राथमिकता दिने, छुट तथा सुविधा प्रदान गरेर सम्मान गर्नुपर्ने र कानुनमा प्रतिबद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न अध्ययनले सुझाएको छ ।
अधिकारीले उक्त अध्ययन भने २०८० मा महानगरमा पेस गरेका थिए । तर यस अध्ययनलाई नीति निर्माण तहमा लैजाने गरी सार्वजनिक गर्ने तयारी गरिरहेको महानगर सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा बताउँछन् । उनी भन्छन्, ‘हामीले प्रमाणमा आधारित भएर गरिएका अध्ययनबाट नीति बनाउने काम गरिरहेका छौं । यसमा सो अध्ययनलाई सरोकारवाला र विज्ञसँग छलफल नीति बनाउनेछौं ।’ अध्ययनमा सहभागी ज्येष्ठ नागरिकमध्ये २३७ जना साक्षर, ६६ जना एसएलसी, ३७ जना हाईस्कुल डिग्री हासिल गरेको, ७२ जना स्नातक वा उच्च शिक्षा हासिल गरेको र ३४ जना निरक्षर रहेका थिए ।
अध्ययनमा सहभागीमध्ये १२५ जना एकल ज्येष्ठ नागरिक थिए । २०४ जना महिला र २४४ पुरुष गरी ४४८ जना ज्येष्ठ नागरिकको जवाफ समेटिएको छ । बाँकी ६१ जनाले भने जवाफ दिएनन् । उक्त अध्ययन प्रतिवेदन १८ जना विषयविज्ञबाट विश्लेषण गरिएको महानगरले जनाएको छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्