Banner News

सामुदायिक अस्पतालसँग सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य



काठमाडौँ, १७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताएका छन् ।

आज कपिलवस्तुमा सामुदायिक डायलिसिस सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने बताएका हुन् ।

उनले नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । लुम्बिनी प्रदेशभित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि समुदायसँग सहकार्य गर्नुपर्ने उनको भनाइ  छ ।

कपिलवस्तुको बाणगंगा–१ मा डायलिसिस सेन्टरले मिर्गौला फेल भएका बिरामीहरूलाई डायलिसिस सेवा प्रदान गर्ने छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा  उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । मिर्गौला फेल भएका बिरामीहरू यसअघि डायलिसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।