अर्थ

च्याङग्राको मूल्य घट्यो



काठमाडौँ, १७ असोज । दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक घटेको छ ।

च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् ।

गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए ।

उनका अनुसार ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हो । गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा  ५५ हजार रुपैयाँसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम हुन्छ ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडिवुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ ।