Banner News

भारतबाट २३० मेगावाट विद्युत् आयात गर्न सम्झौता



काठमाडौँ, १८ असोज । हिउँद याममा भारतबाट २ सय ३० मेगावाट विद्युत् आयात गर्न बिहीबार दुईपक्षीय सम्झौता भएको छ । हरेक वर्ष फेब्रुअरीदेखि मेसम्म विद्युत् आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता भएको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङले हस्ताक्षर गरेका छन् । 

हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (रन अफ रिभर–आरओआर) मा आधारित छन् ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा नेपालले भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । त्यही वर्ष १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको थियो । अघिल्लो आर्थिक वर्ष भने १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात र १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार प्रतियुनिट भारु ७.५ मा २ सय ३० विद्युत् आयात गर्ने गरी भारतसँग सम्झौता भएको हो । ‘आन्तरिक माग धान्न अझै केही वर्ष हिउँदमा बिजुली आयात गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत आउनुभएपछि हामीले सम्झौता गर्‍यौं ।’

नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा गरेर पनि बिजुली खरिद गर्दै आएको छ, जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन नेपालले २०७८ वैशाखमा अनुमति पाएको थियो । कान्तिपुर