काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ ।
बोर्डले आज सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कार्वाहीको चेतावनी समेत दिएको छ ।
यतिबेला ‘बेहुली फ्रम मेघौली’सहित अन्य फिल्मका दृश्य खिचेर टिकटक, रिल्स लगायतका सामाजिक संजालमा पोस्ट गरिएको भन्दै निर्माताले गुनासो गरिरहेका छन् । टिकटकमा यी फिल्मका महत्वपूर्ण दृश्य नै अपलोड गरिएको भेटिएको छ ।
बोर्डले भनेको छ, ‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रको मुख्य मुख्य अंशहरुको भिडियो सामाजिक संजालभरि ब्याप्त भैरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।’
चलचित्रको मुख्य अंशहरुको अनाधिकृत दुरुपयोगबाट चलचित्र निर्माताहरुको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मिहेनत डुब्न जाने अवस्था रहने बोर्डको भनाइ छ । अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानूनी रुपमा विभिन्न डिजिटल माध्यममा अपलोड गर्नु कानूनीरुपमा दण्डनिय अपराध रहेको बोर्डले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्