Banner News

भक्तपुरको उत्तर कोरियासँग तुलना गर्नेहरुले अहिले दक्षिण कोरियासँग तुलना गर्ने अवस्था बन्यो: नेता बस्नेत



भक्तपुर, १९ असोज । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको विकासको मेरुदण्डको रुपमा रहेको चारवटा ड्रिम प्रोजेक्टहरु सफल बनाएरै छाड्ने उद्घोष गर्नुभएको छ । अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी, कर्वोड हल तथा अन्तर्राष्ट्रिय सभागृह बनाएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । आफु निर्वाचित भएको समयमा प्रकृया अगाडी बढाए पनि केही विकास विरोधी तत्वहरुका कारण ति तीन वटा आयोजनाहरु निर्माणको प्रकृयामा ढिलाई भएता पनि आगामी दिनमा एमालेको नेतृत्व आएसँगै पुनः निर्माण प्रकृया अगाडी बढ्ने विश्वास दिलाउनुभयो । उक्त प्रोजेक्टहरु निर्माण भएमा भक्तपुरको आर्थिक, सामाजिक, व्यवसायीक तथा रोजगारीको अवसर पर्याप्त मात्रामा हुने उल्लेख गर्नुभयो ।

एमाले भक्तपुर जिल्लाको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले विगत १०–१५ वर्ष अघि भक्तपुरको विकासलाई उत्तर कोरियासँग तुलनाहरुलाई अहिले दक्षिण कोरियासँग तुलना गर्ने अवस्था बनाएको दावी गर्नुभएको छ । विकास र समृद्धिको पक्षमा उत्तर कोरियाको स्थिती नाजुक रहेको तर दक्षिण कोरिया विश्वकै उत्कृष्ट रहेको छ । उत्तर कोरियामा भोकमरीको अवस्था आउन सक्ने सम्भावना रहेको छ भने दक्षिण कोरियाले विश्वका विकसित मुलुकहरुलाई अर्थतन्त्र तथा विकास र समृद्धिमा नेतृत्व गरिरहेको छ ।

आज भक्तपुर निर्माण व्यवसायी संघको साधारण सभालाई सम्बोधन गर्दै नेता बस्नेतले भक्तपुरमा व्यवस्था परिवर्तनसँगै जनताको अवस्था समेत चमत्कारिक ढंगले परिवर्तन गरेको उल्लेख गर्नुभयो । एमालेको नेतृत्वमा भक्तपुरको विकासलाई डाटामा देख्न सक्ने गरी तथ्यगत रुपमा प्रमाणीत गरेको स्मरण गर्दै उहाँले आगामी अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी, कर्वोड हल तथा अन्तर्राष्ट्रिय सभागृह बनाएरै छाड्ने उद्घोष गर्नुभयो । रोजगार, व्यापार व्यवसायको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै काठमाडौँका मान्छेले राधेराधेतिर आएर ब्राण्डेड पसल खुल्न थालेको उल्लेख गर्नुभयो । पर्यटकीय क्षेत्रको विकास, घ्याम्पेडाँडा, नगरकोट, दिव्येश्वरी प्लानिङलगायतका भक्तपुर पहिचान बन्न सफल भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा एमालेको नेतृत्व आएसँगै भक्तपुरलाई काठमाडौँकोे न्युरोड, ठमेल, बानेश्वरलगायतका क्षेत्र भन्दा उत्कृष्ट बनाउने योजना प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएको छैन भन्नेलाई बुझाउन जरुरी छ । अवस्था नाटकीय ढंगले परिवर्तन भएको छ । विगत १५ वर्ष अघि भक्तपुर आउन बाटो र त्यो समयको अवस्था सम्झीयौं भने र अहिलेको सडक तुलना गरे त्यसको प्रष्ट भइहाल्छ । भक्तपुरमा जग्गा किन्नुस् न भन्यो भने त्यो त उत्तर कोरियो हो भन्ने गर्थे । अहिले नेपालकै नमुना बनेको छ । नेपालभरकै सवैभन्दा बढी जनसंख्या वृद्धि भएको जिल्ला बनेको छ । तसर्थः तर्कलाई तथ्यले प्रमाणीत गरिसकेको छ । जनताको अवस्था चमत्कारिक परिवर्तन भएको छ, त्यो हाम्रो नेतृत्वमा भएको हो । सवैको आकर्षणको केन्द्र बनेको छ । पर्यटन, व्यवसायीक, आधुनिक सहर, सडक, ढल, शिक्षा, स्वास्थ्य लगायतका क्षत्रेमा आमुल परिवर्तन गरेका छौं । तसर्थः भक्तपुर उत्तर कोरिया जस्तै हो भन्नेलाई हामीले दक्षिण कोरिया जस्तै बनेको प्रमाणीत गरेर हामीले देखाइदियौं ।’
केही अराजक तत्वले व्यवसायीलाई ठग र नेतालाई भ्रष्टाचारी भनि मान दिने गरेकोमा आक्रोस व्यक्त गर्दै उहाँले उद्योग बाणीज्य महासंघ उक्त कुरामा बोल्नुपर्नेमा जोड दिनुभयो । व्यापारी, उद्योगीको पक्षमा बोल्नुपर्ने उल्लेख गर्दै उहाँले महासंघ नबोलेमा विकल्प खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘समाजमा नकारात्मक कुराहरुको व्यापार गरेर अनेक खालका नौंटंकीहरु अगाडी बढाउन खोजिदैछ । त्यसलाई चिर्न हामीले सकारात्मक कुराहरु वा एजेण्डाहरु बोक्न जरुरी छ । सत्यको पक्षमा बोल्नुपर्छ । अपराधी र अराजकलाई साईजमा ल्याउनुपर्छ ।’
राजनीति तथा व्यवसायीक क्षेत्रमा पदीय जिम्मेवारी लिनुमात्र नभई सफलतापूर्वक जिम्मेवारी वहन गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले पदीय जिम्मेवारीलाई पुरा गर्न नसके त्यसले आफुलाई ठूलो क्षती पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पद र जिम्मेवारी भनेको दुई तिर धार भएको हतियार जस्तै हो । यो ढंग पुर्यायो भने मासु काट्न, ढंग पुर्याएन भने आफैलाई काट्छ । त्यही भएर कतिपय साथीभाईहरुलाई पद घाँडो भएको छ ।’