काठमाडौँ, २१ असोज । दसैंको घटस्थापनादेखि पूर्णिमासम्म बिदा भएकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमा मात्र सुनुवाइ हुन्छ, हरेक न्यायाधीशलाई पालैपालो एक एक दिन इजलास तोकिएको छ । प्रकाशमानसिंह राउतको पालो पनि आइतबारलाई थियो । संयोग, उनी इजलासमा आइपुग्दा प्रधानन्यायाधीश भइसकेका थिए ।
आइतबार साढे १ बजे राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराए । मुलुकको ३२ औं प्रधानन्यायाधीशका रूपमा नियुक्त भएलगत्तै राउत सर्वोच्च अदालत आए, जहाँ कर्मचारी, न्यायाधीश र वकिल उनको स्वागतमा बसेका थिए । बधाई लिइसकेपछि प्रधानन्यायाधीश राउत इजलासमा बसे । ‘अदालत बन्द भए पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा छिन्न हरेक दिन एक जना श्रीमान्को पालो तोकिएको हुन्छ,’ सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले कान्तिपुरलाई भने, ‘आज प्रकाश श्रीमान्को पालो परेको थियो ।’
बन्दी प्रत्यक्षीकरणका चार मुद्दा पेसीमा थिए । नवनियुक्त प्रधानन्यायाधीश राउतले चारै मुद्दामा फटाफट निर्णय सुनाए । त्यसपछि भेट्न आएका न्यायाधीश र सर्वोच्च प्रशासनका कर्मचारीसँग सामान्य सोधपुछ र केही निर्देशन सकेर उनले प्रधानन्यायाधीशका रूपमा पहिलो दिन पूरा गरे, अब उनी १८ महिना यही भूमिकामा हुनेछन् ।
३२ वर्षको वकालती र ९ वर्षको न्यायसम्पादनको अनुभव भएका उनले न्यायपालिकालाई अब कसरी हाँक्लान् ? वर्षौंसम्म कुर्दा पनि पालो नपाइने मुद्दा व्यवस्थापनको चुनौतीलाई के गरी सम्बोधन गर्लान् ? दिनभरिको धपेडीमा रहेका र न्यायसम्पादनको सर्वोच्च पद मिलेकाले पुलकित भएका राउतले आफ्नै कार्यकक्षमा कान्तिपुरको जिज्ञासामा निकै चनाखो भएर जवाफ दिए ।
प्रधानन्यायाधीश राउतले अदालतको जनआस्था बढाउनेदेखि छिटो मुद्दा छिन्ने र न्यायमा पहुँच बढाउनेसम्मका दर्जन योजना सुनाए । अनि एकछिन मौन बसे । र, कफी सुरुप्प पार्दै कुराकानी टुंग्याए, ‘मलाई कसैले किन्न सक्दैन र म बिक्ने मान्छे पनि होइन । न्यायालयलाई सुधार्न यति भए पुग्छ ।’
संयोग, न्यायपालिका सुधारका लागि गठन भएका दुई ठूला अध्ययन समितिमा राउत प्रत्यक्ष रूपले जोडिएका छन् । तत्कालीन प्रधानन्यायाधीश दिलीपकुमार पौडेलका पालामा मुद्दा जित्न घूस मागिएको सीडी काण्ड सार्वजनिक भएपछि न्यायालयको विकृति–विसंगति सार्वजनिक चासोको विषय बन्यो । त्यसबेला राउत सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष थिए । उनकै पहलमा २०६४ मा सर्वोच्च बारले विकृति/विसंगतिविरुद्ध अध्ययन गर्न कार्यदल बनाउने निर्णय गर्यो । त्यसका अध्यक्ष तोकिए वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र सदस्यहरू भए कानुनविद् भरतराज उप्रेती, प्रकाश वस्ती र कमलनारायण दास । अर्यालबाहेकका तिनै सदस्य पछि सर्वोच्चका न्यायाधीश पनि भए ।
आठ महिना लगाएर अनेक मानिससँग कुरा र धेरै कोणबाट अध्ययन गरेपछि करिब ३ सय पृष्ठको प्रतिवेदन तयार भएको सम्झना वस्तीसँग अहिले पनि छ । ‘बिचौलिया भन्ने शब्द त्यही प्रतिवेदन लेखनमा क्वाइन भएको थियो,’ वस्ती भन्छन्, ‘हामीले अध्ययन गर्दा अदालतमा २९ थरी बिचौलिया सक्रिय भएको पाएका थियौं ।’
ती बिचौलिया पूर्वन्यायाधीशदेखि न्यायाधीशका भान्से, अदालतका कर्मचारी, वकिल, पत्रकार, ड्राइभर र न्यायाधीशका परिवारजनसम्म भएको पुष्टि भएको थियो । सर्वोच्च बारका अध्यक्षका हैसियतले राउत स्वयंले प्रतिवेदन तत्कालीन प्रधानन्यायाधीश केदार गिरीलाई हस्तान्तरण गरेका थिए तर त्यो औपचारिक रूपले सार्वजनिक गरिएन र लागू पनि भएन ।
धेरैपछि २०७८ मा सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा अध्ययन समिति गठन भयो, जसमा एक सदस्य स्वयं राउत थिए । आफूखुसी पेसी तोकेर मन लागेको तरिकाले मुद्दा छिन्ने र छिनाउने प्रवृत्तिले तत्कालिन प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको पालामा हद नाघेको थियो । श्रीमतीको हत्यामा जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई छाडेपछि झन् चर्को आलोचना भयो । ‘त्यही पृष्ठभूमिमा अध्ययन समिति गठन भएको हो,’ राउतले सुनाए, ‘हामीले २०७८ साउन १४ मा चोलेन्द्र श्रीमान्लाई प्रतिवेदन बुझायौं, दुई दिनपछि गोला प्रक्रियाबाट पेसी तोकिन सुरु भयो, जुन अहिले पनि जारी छ ।’ उनले त्यस बेला ज्यादै भाँडिएको अदालतको अवस्था अहिले लयमा आएको बताए ।
न्यायालयको विकृति/विसंगति सुधारसम्बन्धी दुई अध्ययनमा प्रत्यक्ष परोक्षरुपमा संलग्न राउतले अब त्यसलाई कार्यान्वयन गर्ने अवसर पाएका छन् । गत साउन १ देखि लागू भएको न्यायपालिका सुधारको पाँचौं पञ्चवर्षीय रणनीति मस्यौदा गर्ने समितिको अध्यक्ष पनि राउत नै हुन् । न्यायालयमा रहेका दुई वर्ष पुराना सबै मुद्दाको किनारा पाँच वर्षभित्र लगाइसक्ने रणनीतिको उद्देश्य छ । पुराना प्रतिवेदन र पञ्चवर्षीय रणनीति कार्यान्वयनमै प्रधानन्यायाधीश राउतको सफलता भर पर्नेछ । उनी भने आफूसँग योग्य न्यायाधीशहरूको चुस्त समूह रहेकाले न्यायिक सुधारका काम अघि बढाउन सहज रहेको बताउँछन् । ‘न्यायपालिकाको कमजोरी के हो भन्ने मलाई थाहा छ,’ उनले भने, ‘त्यसमा सुधारका लागि मेरा १८ महिना पूराका पूरा उपयोगमा आउनेछन् ।’
मुद्दा छिटो किनारा लगाउनेदेखि जनआस्था वृद्धि गर्नेसम्मका काममा नेतृत्वको निष्ठा र न्यायिक शुद्धताले ठूलो अर्थ राख्छ भन्ने प्रधानन्यायाधीश राउतलाई लाग्छ । वकालत गर्दा र न्यायाधीश हुँदाका दुवै अवस्थामा विवादमा नआएका उनी न्यायालयको नेतृत्वबाट पनि निर्विवाद भएर बिदा हुन सके भने उनको अर्को सफलता हुनेछ । बार र बेन्चको बढ्दो दूरीका कारण न्यायाधीश नियुक्तिमा हुँदै गएको जटिलतालाई जति छिटो चिर्न सक्छन्, उति छिटो उनका लागि बाटो सहज हुँदै जाने देखिन्छ ।
शीतल निवासमा प्रकाशमानले सर्वोच्च अदालतको सर्वोच्च पद ग्रहण गरिरहेका बेला उनका ८६ वर्षीय बुबा बलबहादुरको अनुहारमा प्रसन्नता र सन्तुष्टिको गहिरो चमक थियो । उनी २०१८ चैत १८ मा बलबहादुर र जग्गेश्वरीको माइलो छोराका रूपमा उदयपुरको कटारीमा जन्मिएका हुन् । कटारीदेखि अलि टाढा उदयपुरकै पहाडी इलाका साङ्लेमा राउत परिवारको पुर्ख्यौली घर थियो र घरदेखि डेढ घण्टा पर देविनाथ प्रावि । प्रकाशमानको प्रारम्भिक पढाइ त्यही स्कुलमा भयो । चौथो कक्षादेखि उनलाई बलबहादुरले कटारीको त्रिवेणी माविमा पढाए । त्यहींबाट उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरे । ‘बुबा भारत गइरहने हुनाले त्यहाँका वकिल, डाक्टर र इन्जिनियरहरूको जीवनबाट प्रभावित हुनुभएको थियो,’ प्रधानन्यायाधीश राउत सम्झन्छन्, ‘उहाँ हामी तीन छोरालाई पनि त्यही बनाउन चाहनुहुन्थ्यो ।’
बलबहादुरको इच्छा थियो, जेठो छोरो ज्ञानेन्द्रमान सिंह डाक्टर बनून् । त्यसैले उनलाई त्रिचन्द्रमा विज्ञान पढ्न पठाइयो । माइलो प्रकाशलाई वकिल बनाउन नेपाल ल क्याम्पसमा भर्ना गरियो । कान्छालाई इन्जिनियर बनाउन त्यहीअनुसार चाँजो मिलाउनेवाला थिए । तर जेठाले पढाइ छाडेर राजनीति गरे, कान्छो व्यापारमा लागेर केही पछि अमेरिका पुगे । माइलो प्रकाशले बुबाले देखेको सपनाअनुसार कानुनमा स्नातक गरेलगत्तै बहस गर्न थालिहाले ।
पञ्चायतविरुद्ध दलहरूले गरेको आन्दोलनलाई सम्बोधन गर्न राजाले २०३६ सालमा गराएको जनमत संग्रहको चुनाव भएकै वर्ष प्रकाशले प्रमाणपत्र तह पास गरे तर स्नातक सुरु गर्न एक वर्ष ढिलो हुन पुग्यो । उनले वकालतको प्रमाणपत्र २०४० असोज २५ मा पाए । उनको प्रमाणपत्र नम्बर हो– १११६ ।
प्रमाणपत्र पाएको भोलिपल्टै उनी एक जना ‘क्लाइन्ट’ का तर्फबाट रिट लिएर सर्वोच्च अदालत पुगे । त्यस दिनदेखि जारी उनको वकालती जीवन सर्वोच्चमा न्यायाधीशका लागि सिफारिस हुने केही समयअघि अर्थात् २०७२ फागुन १७ सम्म जारी रह्यो । वकालतका यी ३२ वर्षमा उनले देवानी, फौजदारी र संवैधानिक गरी सबै प्रकृतिका हजारौं मुद्दा लडे । तर कुनै मुद्दामा पनि उनी विवादमा आएनन् ।
उनलाई वकालती कला सिकाउने व्यक्ति दमननाथ ढुंगाना हुन्, जो त्यतिखेरै चल्तीका वकिल बनिसकेका थिए । कानुनविद्हरूमा अहिले पनि श्रद्धाले नाम लिइने गणेशराज शर्मादेखि मोतीकाजी स्थापितसम्मका व्यक्तिहरूसँग राउतको बाक्लो संगत हुन्थ्यो । ‘उहाँहरूकै संगतले मलाई स्वतन्त्रता, निष्ठा र आदर्श जीवनका आधारभूत गुण हुन् भन्ने बोध गरायो, त्यसका आधारमा मैले वकालतलाई अघि बढाएँ,’ राउत भन्छन्, ‘अहिले पनि मेरो जीवनको मूलमन्त्र नै यही हो ।’
प्रतिक्रिया दिनुहोस्