काठमाडौँ, २३ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज विश्व हुलाक दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता भएको समेत बताए ।
उनले सन्देशमा भनेका छन्, “सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ”, ।
उनले आन्तरिक हुलाक सेवामा समेत विविधिकरण गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायत मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपाल हुलाकले छिटोछरितो र चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्