काठमाडौँ, २४ असोज । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा प्रहरी निरीक्षकलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले तत्कालीन भैँसेपाटी प्रहरी प्रभागका प्रमुख समेत रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सोही सिफारिस गरेको हो । घटनामा शाहीको भूमिका शंकास्पद देखिएपछि समितिले यसअघि निलम्बन गर्न सिफारिस गरेको थियो । हाल उनी निलम्बित छन् ।
असोज ६ गते इटहरीका ताज स्लाम र दर्शन पोखरेलको योजनामा सुस्मा विकले एक व्यवसायीलाई ३० लाख नदिए बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरी नै प्रयोग गरी रकम असुल गरेका थिए । घटना लगत्तै बनेको समितिले मंगलबार प्रतिवेदन ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई बुझाएका थिए ।
ललितपुर प्रहरीले बुधबार प्रतिबेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी बुझाएको छ । कार्यालयका एसएसपी विनोद घिमिरेले प्रतिवेदनमा देखिएका कुराको कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाउने तयारी भएको बताए ।
प्रहरी थुनामा रहेका ताजसँग एसपी कमल थापाको समेत सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ । उनीमाथि समेत छानबिन गर्नुपर्ने देखिएको रानीपोखरी प्रहरी स्रोतले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्