Banner News

विद्यालयको दिवा खाजामा दूधजन्य परिकार राख्न सहजीकरण गर्छुः मुख्यमन्त्री आचार्य



काठमाडौँ, २८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयको दिवा खाजामा दूधजन्य परिकार राख्न आवश्यक रहेको बताएका छन् ।

अर्घाखाँची दुग्ध उद्योगको सोमवार अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले स्थानीय दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनलाई समेट्ने गरी प्रदेश सरकारले सहजीकरण गर्ने बताए ।

उनले भने, ‘प्रदेशको समृद्धिको आधार कृषि र पशुपालनलाई लिएका छौं, जस अन्तरगत दुग्धजन्य उत्पादनको बजारीकरणको लागि पनि सरकारले सहजीकरण गर्छ,’ ।

उनले विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनका परिकार हप्ताको एक दिन दिनेगरी कार्यक्रम बनाउने गरी काम गर्ने बताए । ‘यसको सुरुवात अर्घाखाँचीबाट गरेर प्रदेशका १०९ पालिकामा पुर्‍याउछौं,’ उनले भने । खुला सिमानाबाट अवैध रुपमा भित्रिने दूध र दुग्धजन्य पदार्थमा कडाइ गरिनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । पाउडर दूधका लागि नेपालगञ्जमा उद्योग स्थापनाको लागि दुग्ध विकास संस्थानले बनाएको योजना अघि बढाउन संघीय सरकारलाई उनले आग्रह समेत गरे ।