जेनेभा, २९ असोज । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विज्ञान, प्रविधि र नवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई संकीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रुपमा हेरिनुपर्ने बताएका छन् ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको महासभालाई सम्बोधन गर्दै सोमबार सम्बोधन गर्दै अध्यक्ष दाहालले सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशभित्र र देशहरुबीच ठूलो अन्तर रहेको उल्लेख गरे । विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील बनाउन विविध अवसर प्रदान गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्वभरका व्यवस्थापिकाले प्रविधिमा नागरिकको पहुँच र प्रतिफल वितरणमा समता कायम हुने गरी कानून निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको औंल्याए ।
अध्यक्ष दाहालले भने, “विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समाजको हितमा सदुपयोग गर्न तथा यसबाट सिर्जना हुन सक्ने गोपनीयता भङ्ग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रसार जस्ता जोखिम र चुनौतीहरुलाई सामना गर्न विश्वका संसदहरुले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । अझैं पनि साढे दुई अर्ब बढी मानिसहरु सूचना प्रविधिको पहुँचमा छैनन्। तसर्थ, विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ।”
अन्तर-व्यवस्थापिका संघले आफ्नो कार्ययोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (AI) लाई समेट्नुका साथै विज्ञान-प्रविधि सम्बन्धी कार्यसमूह गठन एवं यसको सदुपयोग सम्बन्धी आचारसंहिता निर्माणको प्रयास गर्नु प्रशंसनीय रहेको अध्यक्ष दाहालले बताए । यसैगरी विकसित र विकासशील देशहरूबीच विज्ञान प्रविधिको विकास बीचको खाडल पुर्न व्यवस्थापिकाहरूबीच नीति निर्माण, कार्यान्वयन, उत्कृष्ट अभ्यास र अनुभवहरुको आदानप्रदान गर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस्