काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताएका छन् ।
६९ औँ प्रहरी दिवसका अवसरमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै असाधारण र प्रशंसनीय रहेको बताए । उनले प्रहरी सम्बन्धी कानुन सुधारका लागि मन्त्रिपरिषद्ले प्रस्ताव पारित गरिसकेकाले आगामी संसद् अधिवेशनबाट पारित गरिने भन्दै उक्त कानुन बनेपछि नेपाल प्रहरीमा नयाँ दिनको उदय हुने विश्वास व्यक्त गरे ।
‘शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको छ’, प्रधानमन्त्रीको भनाइ छ । उनले नेपाल प्रहरीलाई पर्याप्त सुविधा, पेट्रोल, अनुसन्धानका सामाग्रीहरूमा कमी भएको आफूले देखेको पनि बताए । ‘प्रहरीलाई नजिकबाट देखेको र समस्या बुझेको छु । ५१ वर्षअघि जेल पर्दा होस् वा ३० वर्षअघि गृहमन्त्री हुँदा नजिकबाट देखेको छु’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले हिजो र आजको स्थितिमा भिन्नता आए पनि समयको माग र आवश्यकता अनुसार शान्ति सुव्यवस्थाका लागि प्रहरीलाई आवश्यक सामाग्री अझै उपलब्ध हुन नसकेको भन्दै यसबारेमा सरकारको ध्यान पुगेको बताए । लोकतान्त्रिक समाजलाई स्वतन्त्रताका नाममा छाडातन्त्र बनाउन नसकिने भन्दै प्रधानमन्त्रीले त्यसतर्फ सचेत हुन जरुरी रहेकोमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्