काठमाडौँ, ३० असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताएका छन् ।
बुधवार रेडियो नेपालका दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भ गर्दै उनले मुलुकलाई अर्को द्वन्द्वमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पारे । मन्त्री गुरुङले संघीय शासन प्रणालीलाई दोष दिनेभन्दा पनि राजनीतिक पार्टीहरूले आफ्नो व्यवहार, आचरण र कार्यशैलीमा रहेको दोष औंल्याएर सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, “हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौँ ? प्रश्नहरू उठिराखेका छन् । यो समानुपातिक हटाउनु पर्यो भन्छन् । तर, समानुपातिक हटायो भने हामी अर्को द्वन्द्वमा जान तयार हुनुपर्दछ । यो कुरा सबैले बुझ्नुपर्दछ ।”
देशको राष्ट्रिय एकता र जनताको सेवाको कामलाई प्रभावकारी बनाउनका लागि संघीयता ल्याउनुपरेको स्मरण गराए । जनप्रतिनिधिहरूको निगरानी जनता आफैँले गर्नसक्ने भएकाले संघीयता मुलुकका लागि उपयुक्त प्रणाली रहेको मन्त्री गुरुङको तर्क थियो । मन्त्री गुरुङले देशमा कुनै पनि प्रकारको विभेद अन्त्य गर्न, आपसी झगडा हुन नदिन पनि संघीयता ल्याउनुपरेको बताए ।
प्रतिक्रिया दिनुहोस्