विश्व

इजरायली आक्रमणमा हमासका प्रमुख मारिएको पुष्टि



एजेन्सी, २ कार्तिक । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । 

उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । 

आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ। सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो।