राजनीति

यो सरकारले कुनै नयाँ उत्साह जगाउने नयाँ कार्यक्रम ल्याउन सकेन : वर्षमान पुन



काठमाडौँ, २ कार्तिक ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन् । 

गृहजिल्ला रोल्पाको राङसीमा शहीद स्मृति युवा क्लबको १५ औँ वार्षिकोत्सवमा बोल्दै उनले सरकार जनआकाङ्क्षा र भावनाअनुसार नचलेको बताए । 

पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्त्वले प्रतिनिधिसभाका दुई प्रमुख दल कांग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको आरोप उनको थियो ।

सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्त्वहरूकै स्वार्थमा काम गरेको टिप्पणी पुनले गरे । ‘बिचौलिया तत्त्वहरूले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो । सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो लिएको छैन ।’