राजनीति

स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा दिन यातायात व्यवसायी सहमत



काठमाडौँ, २ कार्तिक । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । 

आज मन्त्रालयमा यससम्बन्धी समझदारी भएको छ । विपद् प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए ।

केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए ।

त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाए । 

यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोसाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।