काठमाडौँ, ३ कार्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए ।
अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किनुभएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताए ।
केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो । यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण चहलपहल बढेको हो ।
प्रतिक्रिया दिनुहोस्