राजनीति

मालपोतका कर्मचारी सरुवा प्रक्रियामा छानबिन



काठमाडौँ, ११ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटाले चार सयभन्दा बढी कर्मचारी एकै पटक सरुवा गरेको विषयमा छानबिन सुरु गरेको छ ।

जग्गाको धेरै कारोबार हुने कार्यालयहरूमा जथाभावी सरुवा गरिएकाले आर्थिक चलखेलको समेत आशंकामा छानबिन सुरु गरिएको हो । सरुवासम्बन्धी छानबिन गर्न मन्त्रालयले भूमि मन्त्रालय प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य छन् । समितिले निजामती कर्मचारी ऐन र नियमावली तथा मालपोतको स्थापित परम्पराअनुसार सरुवा भएको छ कि छैन भनी अध्ययन गर्नेछ । छानबिन गरेर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।

सापकोटाले गत असोज १४ र १५ को निर्णयबाट ४५ शाखा अधिकृत, २ सय २५ नायब सुब्बा र १ सय ४ खरिदार र ४४ कम्प्युटर अपरेटर गरी ४ सय १८ जनाको सरुवा गरेका थिए । एकैपटक ठूलो संख्या सरुवा गरिएपछि कर्मचारीहरूले अभिलेख विभागमा धर्ना दिएका थिए, जसका कारण सापकोटा कार्यालय जानै छाडेका थिए । सापकोटाले गत साउनमा पनि ७० कर्मचारीको सरुवा गरेका थिए । त्यतिबेला पनि जथाभावी सरुवा गराएको भन्दै कर्मचारीहरूबाटै विरोध भएको थियो ।

विभागमै राख्न अनुचित देखेपछि मन्त्रिपरिषद्ले गत कात्तिक १ मा सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । उनले जग्गा किनबेचको कारोबार बढी हुने उपत्यकाका भक्तपुर, कलंकी, ललितपुर, डिल्लीबजार लगायतका कार्यालयमा आफू निकटलाई पठाएको र एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको आरोप कर्मचारीले लगाएका छन् । उनीहरूले सरुवा रद्द गर्नुपर्ने माग गर्दै आएका छन् । कान्तिपुर