राजनीति

तीनवटा अस्पतालमा बालबालिकाको क्यान्सर उपचार अब निःशुल्क हुने



काठमाडौँ, १२ कार्तिक । सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति रहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार सेवा निःशुल्क गर्ने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

नेपालले मंसिरको दोस्रो सातादेखि बालबालिकामा हुने क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने छ । उक्त औषधि हाललाई भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पतालमा उपचार गर्ने बालबालिकामा क्यान्सर देखिएको खण्डमा प्रयोग गरिनेछ ।