अर्थ

सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ : महामन्त्री थापा



काठमाडौँ, १२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राखे ।

थापाले जनतालाई सरकार भएको महसुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दैन भन्ने विश्वास गराउनुपर्ने बताए ।

महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्ने भन्दै संसदीय छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई सुझाव दिए ।