काठमाडौँ, १५ कार्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत हप्तादेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।
देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेको भनेर चर्चा हुने गरेको छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए । विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमता थियो भन्ने गरिएको छ । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।
प्रतिक्रिया दिनुहोस्