काठमाडौँ, १७ कार्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालको मौलिक नेपाल संवत् ११४५ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै उनले परस्पर सहयोग, मेलमिलाप, सद्भाव र एकतालाई अक्षुण्ण राख्दै नेपाली सांस्कृतिक परम्परा, मूल्यमान्यता, रीतिरिवाज र रहनसहनको संरक्षण र संवर्द्धनमा प्रोत्साहित गर्न सहयोग पुग्ने बताएका हुन् । नेपाली सांस्कृतिक धरोहरको एउटा जीवन्त प्रतीकका रूपमा रहेको नेपाल संवत्को स्थापना नेपालीको आर्थिक सुधार गर्ने उद्देश्यले गरिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको प्रतीक यस संवत्लाई मुलुकभर धूमधामका साथ मनाउनुपर्ने जिकिर गरे ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन रहेको र कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौँ उपत्यकामा नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा रहिआएको छ ।
”शङ्खधरले काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋण एवम् दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नु भएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँलाई हृदयदेखि नै स्मरण गर्न चाहन्छु”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, “नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन उहाँले गर्नुभएको अतुलनीय योगदानको प्रशंसा पनि गर्दछु ।”
प्रतिक्रिया दिनुहोस्