काठमाडौँ, १७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् ।
पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए । अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिस्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै प्रमुख समस्या हो ।”
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिस्ट एकताबद्ध भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा दण्डहिनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिस्ट पार्टीले विगतका गरेका कमीकमजोरी स्विकारेर एकीकृत हुनुपर्ने विचार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्