राजनीति

मेची महाकाली युवा सङ्कल्प यात्रा हुँदै



काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको संयोजनमा मेची महाकाली युवा सङ्कल्प यात्रा आयोजना हुने भएको छ । 

कार्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

युवा सङ्कल्प यात्राका बारेमा जानकारी दिन आयोजित उक्त पत्रकार सम्मेलनमा शाहीले युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मुलन र सुशासन , महँगी र मूल्यवृद्धि नियन्त्रण, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही लगायतका १० बुँदे एजेन्डाका साथ युवा सङ्कल्प यात्रा आयोजना गरिएको बताए । 

स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा सङ्कल्प यात्राले आवश्यक पहल र दबाबको अगुवाइ गर्ने उनको भनाइ छ ।  त्यस्तै तीनै तहका सरकारमा व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने उनले बताए । शाहीले सयौँ सहकारीमा लाखौँ नेपालीले बचत गरेको अर्बौँ रुपैयाँ बचत फिर्ता गराउन युवा सङ्कल्प यात्राले जस्तोसुकै पहल गर्ने बताए ।