Banner News

सभापति लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै



पोखरा, २० कार्तिक । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा प्रस्तुत गर्न समय लाने भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि अभियोजन लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएको छ । जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिने जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले बताइन् ।