पोखरा, २० कार्तिक । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा नाराबाजीसहित प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो ।
लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई पनि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन् ।
प्रतिक्रिया दिनुहोस्