राजनीति

ओली र देउवाको नेतृत्वमा दुईदलीय संयन्त्र



काठमाडौँ, २२ कार्तिक । सत्तारूढ कांग्रेस र एमालेले सरकारका प्राथमिकता कार्यान्वयनमा सहजीकरणका लागि राजनीतिक संयन्त्र घोषणा गरेका छन् ।

पार्टी पदाधिकारी र मन्त्रीहरू संलग्न रहेको दुईदलीय संयन्त्रको नेतृत्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य छन् । एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् । प्रदेश र पालिका तहमा समेत चाँडै संयन्त्र बनाउने सत्तारूढ दुई दलको तयारी छ ।

संयन्त्र गठन भएपछि सरकारका कामकारबाहीमा अप्ठेरो पर्ने आशंका गठबन्धन दलका कतिपय नेताहरूले गरिरहेका छन् । एमाले महासचिव पोखरेल भने संयन्त्रले सरकार सञ्चालनमा दख्खल नपुर्‍याउने भएकाले त्यस्तो आशंका र अविश्वास नबढ्ने बताए । समानान्तर शक्ति अभ्यास गर्ने र आशंका बढाउने कुनै पनि गतिविधि संयन्त्रले नगर्ने उनको भनाइ छ । ‘राज्यका नियम, कानुनअन्तर्गत हुने काममा दक्खल गर्दैनौं । सरकारका आफ्ना उद्देश्य छन् । तिनलाई कसरी सफल पार्ने भन्नेमा सहयोग र सहजीकरण गर्ने काम संयन्त्रबाट हुन्छ,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने राजनीतिक मिसनअन्तर्गत सरकार अघि बढेको छ, त्यसमा संयन्त्रले सहजीकरण गर्छ, सरकार सञ्चालनको विषयमा प्रवेश नगर्ने भएकाले आशंका लिनुपर्दैन ।’

कांग्रेस महामन्त्री गगन थापाले सरकारका काम र प्राथमिकतामा सहजीकरण गर्ने, अप्ठ्यारा फुकाउने, अन्तर्राष्ट्रिय सम्बन्धमा साझा धारणा बनाउने र आउन सक्ने चुनौतीमा सहजीकरण गर्नेलगायतका काम दुईदलीय संयन्त्रले गर्ने बताए । ‘नेपालमा गठबन्धन सरकारले प्रभावकारी कार्य सञ्चालन गर्न नसक्नुको एउटा कारण गठबन्धनमा रहेका दलहरूबीच संस्थागत सम्बन्ध नहुनु पनि हो । संयन्त्रले त्यसलाई पूर्ति गर्छ । सही ढंगले काम गर्न सक्यो भने दुई दलबीच आशंका पनि रहँदैन,’ उनले भने, ‘कांग्रेस र एमाले एक ठाउँमा आइसकेपछि सुधारका जोखिमहरू उठाउनुपर्नेछ, त्यसका निम्ति कस्तो जोखिम कसरी उठाउने भन्ने खाका तयार गर्नुपर्छ । त्यही कामका लागि संयन्त्र बनाइएको हो ।’