राजनीति

सरकारले महत्त्वपूर्ण कामको थालनी गरेको छ, गल्ती गर्नेलाई सजाय हुन्छ : प्रदीप ज्ञवाली



गुल्मी, २२ कार्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् । 

नेकपा (एमाले) रेसुंगा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चार महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण कामको थालनी गरेको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेको अर्थतन्त्रलाई उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उनको भनाइ थियो । कानुनको नजरमा सबै बराबर भएकाले गल्ती गर्नेलाई सजाय हुने उनको भनाइ छ । 

देशको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको ज्ञवालीले बताए । पटकपटक सरकार परिवर्तनको खेलले मुलुकमा अस्थिरता बढेको, लोकतन्त्रप्रति जनतामा निराशा पैदा हुँदै जान थालको अवस्थामा मुलुकमा राजनीतिक स्थायित्वका लागि सरकारले काम गरिरहेको उनले बताए । 

“एमालेले सत्तामा बस्दा होस् वा प्रतिपक्षमा, चुनाव जित्दा होस् वा हार्दा सधैँ जनताको पक्षमा काम गर्दै आएको छ,” उपमहासचिव ज्ञवालीले भने ।