समाचार

ट्राफिक नियम उल्लंघन गर्ने ३९ हजार चालकलाई कारबाही



काठमाडौँ, २४ कार्तिक । काठमाडौँ उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार एक सय १७ चालकमाथि कारबाही गरिएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गरिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ३९ हजारमध्ये तीन हजार तीन सय ५० मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरिएको जानकारी दिए । 

त्यस्तै, लेन अनुशासन नमान्ने दुई हजार एक सय ४४, तीव्रगतिमा सवारी चलाउने तीन हजार नौ सय ५७, हेलमेट नलगाउनेलगायत अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार ६ सय ६६ जनालाई कारबाही गरिएको उनले बताए। प्रवक्ता चतुर्वेदीका अनुसार दसैँ, तिहार र छठ पर्वका अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा चार सय ५० सवारीसाधन दुर्घटना भएका थिए ।