राजनीति

छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा



काठमाडौँ, २४ कार्तिक । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल)को अभिलेखीकरण सुरु गरेको छ ।

महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइनेछ । विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।  

सोही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययन समेत गर्ने प्रमुख शर्माको भनाइ छ । अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन भएका छात्रावासहरुले विवरण पेश गर्नुपर्नेछ । 

प्रचलिन कानुनबमोजित अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ । नियमअनुसार छात्रावास सञ्चालनका लागि प्रचलित कानुनअनुसार दर्ता भई नेपालीपन झल्कने गरी नाम राख्नुपर्नेछ । सञ्चालनको जिम्मेवारी लिएको व्यक्तिबारे उल्लेख हुनुपर्ने, भौतिक संरचना भाडामा हो की आफ्नो स्पष्ट उल्लेख गर्नुपर्ने, भान्साको व्यवस्था कस्तो छ उल्लेख हुनुपर्ने खेलकुद मैदानको व्यवस्थाबारे खुलाउनुपर्ने, खानेपानीको अवस्था, स्थान घर वा शौचालयबारे बताउनुपर्ने उल्लेख छ ।