Banner News

उपनिर्वाचनमा सम्पूर्ण शक्तिका साथ परिचालन हुन एमालेको निर्देशन



काठमाडौँ, २४ कार्तिक । नेकपा एमालेको सचिवालय बैठकले आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । 

शनिबार बसेको बैठकले ४४ पदमा गुने उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको हो । 

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । सो निर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिलाई सम्पूर्ण शक्तिका साथ परिचालित हुन निर्देशन दिइएको छ ।’