राजनीति

महँगो भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवालाई प्राधिकरणको चेतावनी



काठमाडौँ, २५ कार्तिक । हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।

नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा परराष्ट्र, श्रम र पर्यटन मन्त्रालयका उच्च अधिकारी र नेपालमा उडान गर्दै आएका वायुसेवा प्रतिनिधिबीच शनिबार भएको बैठकमा प्राधिकरणले उपभोक्ताबाट यथोचित हवाई भाडा मात्र लिन लिखित निर्देशन दिएको हो । सरकार र वायुसेवा सञ्चालकहरूबीचको सम्झौतामा ‘उपभोक्तालाई मर्का नपर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी व्यावसायिक उडान कटौती गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर दोब्बर–तेब्बर पुर्‍याएका थिए । उडान कटौतीपछिको अस्वाभाविक वृद्धि नियन्त्रण गर्न परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई शुक्रबार भेटेरै सुझाएका थिए ।