समाचार

मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाइँदै



काठमाडौँ, २५ कार्तिक । मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ ।

यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन् ।

यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ ।