काठमाडौँ, २५ कार्तिक । डेङ्गु सङ्क्रमण घट्दै गएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका अनुसार डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको हो ।
शाखाका अनुसार डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो । मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।
ईडिसिडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा सात हजार दुई सय ८६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । त्यसैगरी काठमाडौँमा चार हजार आठ सय तीन, तनहुँमा दुई हजार तीन सय ७३ , पर्वतमा एक हजार सात सय ४९, ललितपुरमा एक हजार दुई सय ४१, बाग्लुङमा एक हजार दुई सय, चितवनमा एक हजार एक सय ७५, भक्तपुरमा एक हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेङ्गुले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्