मकवानपुर, २६ कार्तिक । वाग्मती प्रदेश सरकारले मन्त्रालय विभाजनको तयारी गरेको छ ।
सरकार गठन भएसँगै मन्त्रालयको भागबन्डामा समस्या भोग्दै आएका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो मन्त्रिपरिषद्का एक मन्त्रीलाई विभागीय जिम्मेवारी तोक्नका लागि मन्त्रालय विभाजन गर्न लागेका हुन् । मुख्यमन्त्री लामाले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका थिए । एमालेबाट ६ र कांग्रेसबाट आफूबाहेक ७ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री लामाले मदुकुमार श्रेष्ठलाई हालसम्म विभागीय जिम्मेवारी तोकेका छैनन् । मुख्यमन्त्री लामाले श्रेष्ठलाई आफू नियुक्त भएकै दिन मन्त्रीमा नियुक्त गरेका थिए । गत साउन ९ गते लामाको नेतृत्वमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो ।
स्रोतका अनुसार मुख्यमन्त्री लामाले भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गर्ने तयारी गरे पनि सत्तारुढ सहयात्री एमाले नमानेपछि समस्यामा परेका छन् । मुख्यमन्त्री लामाले कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वसँगको आन्तरिक छलफलपश्चात् आफ्नो दलले प्राप्त गरेको मन्त्रालयबाटै श्रेष्ठलाई विभागीय जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार लामाले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गर्ने तयारी गरेका छन् । उनले यसका लागि आवश्यक तयारी अगाडि बढाउन समेत कर्मचारीलाई निर्देशन दिइसकेका छन् । एक मन्त्रीका अनुसार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा सहकारीलाई मिलाएर अर्को मन्त्रालय बनाउने तयारीसमेत भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्